दफा ३२
अभियोग पत्र दायर गर्ने
  (१) दफा ३१ को उपदफा (३) बमोजिम मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न मिसिल अध्ययन गर्दा सङ्कलित सवुद प्रमाणबाट मुद्दा चल्ने पर्याप्त प्रमाण देखिएमा अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतको मुद्दा भए सम्बन्धित सरकारी वकिलले देहायका विवरणहरु उल्लेख गरी अनुसूची–२० बमोजिमको ढाँचामा अभियोगपत्र तयार गरी म्याद भित्रै सम्बन्धित अदालतमा पेश गर्नु पर्नेछः–
(क) अभियुक्तको पूरा नाम, थर, ठेगाना, हुलिया, उमेर, पेशा वा व्यवसाय,
(ख) अभियुक्तको बाबु, आमा वा पति, पत्नीको नाम,
(ग) अभियुक्त बसोबास गरेको गाउँपालिका वा नगरपालिका, वडा नं., गाउँ, टोल, भएसम्म ब्लक नं.,
(घ) अभियुक्तको वास्तविक पहिचान हुने विवरण, निजको फोटो, नागरिकता वा राहदानी, सवारी चालक इजाजतपत्र वा निजको वास्तविक परिचय खुल्ने अन्य कागजातको प्रतिलिपि,
(ङ) अभियुक्तको भएसम्मको दुवै हातको चोरी औँलाहरुको छाप,
(च) अरुकोे घरमा डेरा गरी बसेको भए घरधनीको नाम, थर र ठेगाना सहितको विवरण,
(छ) कसूरसँग सम्बन्धित सूचनाको व्यहोरा,
(ज) कसूर सम्बन्धी विवरण,
(झ) अभियुक्तले कसूर गरेको कुरा प्रमाणित गर्ने दसी, प्रमाणको विवरण,
(ञ) अभियुक्त उपर लगाइएको अभियोग र त्यसको आधार र कारणहरु,
(ट) प्रयोग हुनु पर्ने सम्बन्धित कानून र त्यसको कारण,
(ठ) अभियुक्तलाई हुनु पर्ने सजायको माग दावी र त्यसको कारण,
(ड)) कसूरबाट क्षति पुगेको ब्यक्तिलाई क्षतिपूर्ति भराई दिनु पर्ने भए त्यस्तो क्षतिपूर्तिको रकम,
(ढ) कसूरको प्रकृतिसँग सम्बन्धित अन्य आवश्यक कुनै कुरा भए त्यसको विवरण ।
(ञ१) कुनै अभियुक्त फरार रहेको भए निजको सम्पत्ति तथा अन्य विवरण र निज कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति भए सोको विवरण,
(ञ२) अभियोग लगाईएको कसूरबाट अभियुक्तको नैतिक पतन हुने भएमा सोको लागि माग दाबी,
(२) उपदफा (१) बमोजिम अभियोगपत्र पेश गर्दा कसूरका सम्बन्धमा सङ्कलित सवुद प्रमाण, दसी तथा वस्तु, जवर्जस्ती करणी सम्बन्धी/कसूर भएमा सम्भव भएसम्म पीडित व्यक्ति र अभियुक्त हिरासतमा रहेको भए निज सहित पेश गर्नु पर्नेछ ।
(२क) अभियोगपत्र पेश गर्दा उपदफा (२) बमोजिम पीडितलाई उपस्थित गराइएको रहेछ भने निजको तत्काल बकपत्र गराई दफा १०१ को उपदफा (७) बमोजिम प्रतिवादीलाई जिरह गर्ने अवसर दिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम पेश गरिने अभियोगपत्रमा अभियुक्त उपर अभियोग लगाउन प्रस्ताव गरिएको कसूरको कुनै खास नामाकरण कानूनमा गरिएको रहेछ भने त्यस्तो कसूरको सम्बन्धमा सोही नामको उल्लेख गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम प्रचलित कानूनमा कसूरको कुनै नामाकरण नगरिएको भए त्यस्तो कसूरको प्रकृति अनुसार अभियुक्त उपर लगाइएको अभियोग निजले स्पष्ट रुपमा बुझन सक्ने गरी कसूरका तत्वहरु समेत विचार गरी नामाकरण गर्नु पर्नेछ ।
(५) अभियुक्तले पहिले कुनै कसूरमा सजाय पाइसकेको जानकारी हुन आएमा वा निज उपर अन्य कुनै मुद्दा चलाइएको रहेछ भने र त्यसको कारणले बढी सजाय हुनु पर्ने अवस्था रहेछ भने निजले पहिले सजाय पाएको मिति र सजाय गर्ने अदालतको नाम तथा मुद्दा समेत उपदफा (१) बमोजिम दायर गरिएको अभियोगपत्रमा वा पछि खुल्न आएमा खुल्न आएको बखत उल्लेख गर्नु पर्नेछ ।
(६) कुनै कसूरका सम्बन्धमा कुनै ब्यक्तिका बिरुद्ध मुद्दा चलाउन तत्काल सङ्कलित सवुद प्रमाण पर्याप्त नभई सरकारी वकिलले दफा ३१ को उपदफा (३) बमोजिम मुद्दा नचल्ने निर्णय गरेकोमा त्यस्तो कसूरमा कुनै ब्यक्तिको निजी सम्पत्ति वा बिगोे हानि, नोक्सानी सम्बन्धी देवानी दायित्वका विषय समेत समावेश भएको रहेछ भने सरकारी वकिलले सोको सूचना जाहेरवाला वा त्यस्तो कसूरबाट पीडित ब्यक्तिलाई सम्बन्धित अनुसन्धान अधिकारी मार्फत दिनु पर्नेछ ।
(७) उपदफा (६) बमोजिमको सूचना प्राप्त भएकोमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो सूचना प्राप्त भएको मितिले साठी दिनभित्र सम्बन्धित ब्यक्तिले मुद्दा दायर गर्न चाहेमा अनुसूची–४ अन्तर्गतको कसूर सरह मुद्दा दायर गर्न सक्नेछ ।
(८) यस संहिता बमोजिम अनुसन्धान गर्दा एकभन्दा बढी ब्यक्ति उपर अनुसन्धान भएको तर त्यस्ता ब्यक्तिमध्ये कुनै ब्यक्तिको हकमा मात्र मुद्दा चलाइएको अवस्थामा वा नेपाल सरकार वादी हुने भई अनुसन्धान भएको तर अनुसन्धानबाट त्यस्तो मुद्दा यस संहिता बमोजिम नेपाल सरकार वादी भई चल्न सक्ने अवस्था नभई अन्य कानून अन्तर्गत मुद्दा चल्न सक्ने निर्णय भएमा वा ब्यक्तिवादी भई चल्न सक्ने भएमा सम्बन्धित सरकारी वकिलले त्यसको जानकारी सम्बन्धित उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा तुरुन्त पठाउनु पर्नेछ ।
(९) उपदफा (८) बमोजिम जानकारी प्राप्त भएपछि उच्च सरकारी वकील कार्यालयको प्रमुखले त्यस्तो विषय अध्ययन गरी मुद्दा चलाउनु पर्ने वा नचलाउनु पर्ने निर्णय गर्नु पर्नेछ र मुद्दा चलाउनु पर्ने मनासिब कारण देखिएमा त्यसको कारण खुलाई सम्बन्धित सरकारी वकिललाई मुद्दा चलाउने निर्देशन दिनेछ र त्यस्तो निर्देशन प्राप्त भएमा त्यस्तो सरकारी वकिलले अभियोगपत्र वा पूरक अभियोग पत्र दायर गरी मुद्दा नचलाइएका ब्यक्ति उपर मुद्दा चलाउनु पर्नेछ ।
(१०) उपदफा (९) बमोजिम उच्च सरकारी वकील कार्यालयको प्रमुखले मुद्दा नचलाउने निर्णय गरेकोमा त्यसको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनु पर्नेछ ।
(११) उपदफा (१०) बमोजिमको जानकारी प्राप्त भएपछि महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धित सरकारी वकिललाई मुद्दा चलाउने वा नचलाउने सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(१२) उपदफा (८) बमोजिम अन्य कानून अन्तर्गत मुद्दा चल्ने जानकारी प्राप्त भएकोमा त्यस्तो व्यहोरा मनासिब देखिएमा उच्च सरकारी वकिल कार्यालयले सो कुराको जानकारी सम्बन्धित ब्यक्तिलाई दिनु पर्नेछ ।
(१३) यस परिच्छेदमा अन्यथा व्यवस्था भएकोमा बाहेक अनुसन्धानको सिलसिलामा कुनै ब्यक्तिबाट धरौट वा जमानत लिएको भए निज उपर मुद्दा चलाइएकोमा अदालतबाट अन्यथा आदेश भएकोमा बाहेक थुनछेक आदेश भएपछि र मुद्दा नचल्ने निर्णय भएमा त्यसरी राखेको धरौटी वा जमानत त्यस्तो ब्यक्तिलाई फिर्ता गरिदिनु पर्नेछ ।